मंसिर १४ । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ। माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो।
बे ओभलमा न्युजिल्याण्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सर्वाधिक २८ रन बनाए। यस्तै शिम्रन हिटमायरले २५ रन जोड्दा आन्द्रे फ्लेटचर र केली माएर्सले २०/२० रन बनाए।
किमो पाउलले अविजित २६ रन जोड्दा फाबियन एलेनले १५ रन बनाए। न्युजिल्याण्डका केली जेमिसन र मिचेल स्टानरले २र२ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो। न्युजिल्याण्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय इनिङ्स खेले। ५१ बलको सामना गरेका फिलिप्सले १ सय ८ रन बनाएर आउट भए। ४६ बलमा शतक पुरा गरेका फिलिप्सले ८ छक्का र १० चौका प्रहार गरे। टी-ट्वान्टी अन्तराष्ट्रियमा उनको यो पहिलो शतक समेत हो।
यस्तै डेभोन कोनवेले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै मार्टिन गुप्तिलले ३४ रन जोड्दा टिम सेइफर्टले १८ रन जोडे। वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसुमाने थोमसले १/१ विकेट लिए। जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा २-० को अग्रता समेत बताएको छ। यस अघि पहिलो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो। दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ। एजेन्सी


























