काठमाडौं, मंसिर १० । ओपन वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्णसहित १ पदक हात पार्न सफल भएको छ। पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ रजत र ३ कास्य पदक जितेको हो। नेपालका लागि सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले स्वर्ण जिते।
महिला १४ देखि १८ वर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन्।
सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन्। गौतमले १० वर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिईन्। नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन्।
१० दिन अगाडी मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए। मानन्धर पुरुष ४५ बर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए।
यस्तै २२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टोसँग पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भईन्। सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिईन्। १९ देखि २१ वर्षको गर्ल्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गो संग पराजित भएकी थिईन्।
सत्कार घती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन्। मगर १० वर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ वर्ष एडभानसमा पराजित हुँदै कास्यमा सिमित भएका हुन्। च्याम्पियनसिपमा नेपाल सहित १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता अनलाईन मार्फत प्रदर्शन गरेका थिए।


























