काठमाडौं, मंसिर ८ । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन्। अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानु अघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन्। सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी गराए।
‘डिसेम्बरको १४/१५ मा सन्दीप अष्ट्रेलिया जानेछन् । यद्दपी मिति भने पक्का भएको छैन,’ सिवाकोटीले भने, ‘अष्ट्रेलिया जानु अघि अस्न्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत सामेल हुने छन्। करिब १० दिन जति उनले राष्ट्रिय टोलीमा बिताउने छन्।’
लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन्। यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए। यस्तै सिवाकोटीले सन्दीप आज बेलुका बन्द प्रशिक्षणको लागि सन्दीप काठमाडौं आइपुग्ने बताए।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारबाट टिमको बन्द प्रशिक्षण सुरु गर्दैछ। अन्तराष्ट्रिय तालिका नरहेपनि क्यानले लामो समयसम्म खेलाडीले प्रतिस्पर्धात्मक खेल र मैदानमा अभ्यास गर्न नपाएको भन्दै बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको हो। बन्द प्रशिक्षणको लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ। जसमा सन्दीप समेत रहेका छन्।
क्यानले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक, फिजियो, ट्रेनर, ग्राउण्ड स्टाफ, होटल कर्मचारी लगायतको पीसीआर प्रशिक्षण मंगलबार गर्दैछ।कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो।


























