चितवन, मंसिर ७ । चितवनको रत्ननगरमा भूमिहीन सुकुमबासीहरुलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको छ। कार्तिक २६ गते भूमि सम्बन्धी समस्या सामधान आयोगसंग सम्झौता गरेको सो नगरपालिकामा आइतवार देखि यसको प्रक्रिया सुरु गरेको हो।
आइतवार सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि तथ्याङक संकलकहरुलाई प्रशिक्षण दिइएको छ। सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले सुकुमबासीहरुलाई बसोबासका आधारमा लालपूर्जा उपलब्ध गराउने बताए। उनले जो जहाँ बसेको छ त्यसैको आधारमा लालपूर्जा उपलब्ध गराउने गरी काम थाल्न आयोगलाई आग्रह गरे। सरकारको नीति पनि त्यही छ उनले भने यो सरकारले सुकुमबासीलाई सजिलै पुर्जा उपलब्ध गराउनु पर्छ।
रत्ननगरका मेयर नारायण वनले तीन महिना भित्र लालपूर्जा वितरण गर्ने गरी तयारी गरिएको बाताए। पूर्व तयारीको लागि हामी कुनै कसुर बाँकी राख्ने पक्षमा छैनौं उनले भने तीन महिना भित्रमा लालपूर्जा वितरण गर्ने गरी जनशक्तिले काम गर्ने छ। आयोगकी सदस्य मन्जिला शाक्यले तीन बर्ष भित्र १३ लाख भूमिहीन सुकुमबासीलाई पुर्जा वितरण गर्ने आयोगको योजना रहेको बताइन्। उनले पहिलो चरणमा रत्ननगर नगरपालिका सहित ९ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पुर्जा वितरण हुने जानकारी दिइन्।
आयोगले तीन महिना भित्र पुर्जा वितरण गर्ने गरी तयारी थालेको छ उनले भनिन् त्यसका लागि यहाँका जनप्रतिनिधिहरुको सक्रियता उत्तिकै हुन जरुरी छ। रत्ननगरका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडासचिवहरु,राजनीतिक दलका प्रतिनिधिहरु तथा सुकुमबासी समुदायको क्षेत्रमा सक्रियाशिल संगठनका प्रतिनिधिहरुलाई तथ्याङ्क संकलनको लागि प्रशिक्षण दिइएको आयोगका प्रबक्ता भीमबहादुर कार्कीले जानकारी दिए। कार्यक्रममा सहभागीहरुलाई सुकुमबासीको पहिचान,तथ्याङ्क संकलन गर्ने तरिका,जग्गा नापी तथा आयोग र नगरपालिकाको काम कर्तब्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए। केन्द्रीय आयोगले राजपत्रमा सुचना प्रकाशित गरेपछि स्थानीय स्तरका सुकुमबासीको तथ्याङ संकलनको काम सुरु हुने र प्रमाणिकरणको काम सकिएपछि जग्गा नापजाँचको काम प्रारम्भ हुने आयोगका प्रबक्ता कार्कीले जानकारी दिए।
यो काम तीन महिना भित्र सकेर पुर्जा वितरण सुरु गर्ने योजना रहेको उनले बताए। रत्ननगरमा १ हजार ५०४ घरधुरी सुकुमबासी रहेको तथ्याङक नगरपालिकासंग छ। करिब एक बर्ष अघि सो नगरपालिकाले लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा सुकुमबासीको तथ्याङक संकलन गरेको थियो। तथ्याङक संकलन गरेकै कारण देशभरबाट १४ वटा पालिका छनौटमा पर्दा रत्ननगर पनि परेको हो। आयोगले रत्ननगर नगरपालिकाका सहित कावासोती, बेलका, कन्काइ, धनगढीमाई, हरिवन, बबई, गुर्भाकोट र कृष्णपुर नगरपालिका तथा रुपागाउँ, बागमती, कन्चन, चौकुने र गौरीगंगा गाउँपालिकामा पहिलो चरणमा लालपूर्जा वितरण गर्दै छ।


























