मंसिर ६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ। ‘इन्टरनेसनल ब्रेक’ पछिको पहिलो खेलमा सिटीले टोटेनहमसँग खेल्न लागेको हो। टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ।
टोटेनहमको मैदानमा सिटी जित निकाल्ने योजनामा हुनेछ। यस सिजन उत्कृष्ट प्रदर्शन गर्न असफल सिटी लिगको दशौँ स्थानमा रहेको छ। सिटीले ७ खेलमा १२ अंक मात्र जोडेको छ। तर, टोटेनहमलाई हराएर सिटी अंक तालिका सुधार गर्न चाहन्छ। टोटेनहमविरुद्ध सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङ मैदान उत्रने सम्भावना रहेको छ। चोट बोकेका उनीहरु सिटीको अभ्यासमा फर्कीसकेका छन्।
तर, बलियो टोटेनहमविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन। टोटेनहम ८ खेलमा १७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। घरेलु मैदानमा टोटेनहम सिटीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। टोटेनहम शीर्ष स्थानको लेष्टर भन्दा एक अंकले पछि रहेको छ।
यस्तै चेल्सीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ। म्यानचेस्टर युनाईटेडले वेस्ट ब्रुमसँग घरेलु मैदानमा खेल्नेछ। अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनसँग खेल्नेछ। एजेन्सी


























