नेपालगञ्ज, मंसिर ६ । छैठौँ धारा नेपालगञ्ज म्याराथन सुरु भएको छ। नेपालका शीर्ष धावकहरु नेपालगञ्ज म्याराथनको उपाधी जितेर टोकियो ओलम्पिकमा जान प्रतिस्पर्धामा उत्रिएका छन्।
म्याराथनको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपालगञ्जको मेयर डा। धवलशमशेर राणालगायतले उद्घान गरेपछि धावकहरु दौड्न सुरु गरेका छन्।
१३ औँ सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, नेपालगञ्ज म्याराथनको पहिलो संस्करण विजेता होमलाल श्रेष्ठ, दोस्रो विजेता कृष्ण बस्नेत, गत वर्षका विजेता नवराज साउद र गतवर्ष दोस्रो भएका खगेन्द्र भाटसहितका धावक सहभागी छन्।
नेपालगञ्ज म्याराथन विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने छन्। त्यसका साथै प्रथम हुनेले ७५ हजार रुपैयाँ पाउनेछन्। यसपाली रेकर्ड ब्रेक गर्नेलाई २५ हजार तत्काल दिने घोषणा गरिएको छ। टोकियो ओलम्पिकमा रेकर्ड ब्रेक गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा भइसकेको छ।
हाफ म्याराथनमा १३ औँ सागमा सिल्भर मेडल विजेता पुष्पा भण्डारीसहितका धावक दौडिएका छन्।


























