काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका छन्।
“नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु।” उनले भने।
त्यस्तै नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएको बताउँदै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा भएको बताए। यी र यस्ता चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताएका छन्।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन देखिएको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै भौतिक दूरी कायम गर्न समेत सभापति देउवाले आग्रह गरेका छन्।
“मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको छ। यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ। तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु। ” उनले भने।


























