काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमात्रै लिने र अलमल गर्ने काम बन्द गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्। बुधबारको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्याउन चेतावनी दिएका हुन्।
अध्यक्ष ओलीले आफूविरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएपछि नेता नेपालले त्यस्तोे जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिए। नेता नेपालले केन्द्रीय सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको कामकारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताएका छन्।
‘कसैले पनि गल्ती र कमजोरी नगरौँ, अहिलेसम्म भएका कमजोरीको सवैले स्वीकार गर्र्दै सच्चाउन तयार रहौं’, नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘जनता र कार्यकर्तामा उत्पन्न निरासालाई उत्साहमा बदल्ने काम गरौँ। प्रदेश सरकार र स्थानीय सरकारहरु जनताप्रति उत्तरदायी छैनन् । उनीहरुका कामको समीक्षा गर्दै जवाफदेही बनाऔं।’


























