काठमाडौं, कार्तिक ३० । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सबै २५ खेलाडीसहित नेपाली टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
नेपाली टिमको शनिबार कोरोना परिक्षण गरिएको थियो। यस्तै एन्फाले यस अघि पोजेटिभ देखिएको एक खेलाडीको नयाँ रिपोर्ट समेत नेगेटिभ आएको जनाएको छ। उनी टिममा चाडै फर्कने एन्फाले जनाएको छ। उनले शुक्रबार भएको पहिलो खेल गुमाएका थिए।
तर, एन्फाले बंगलादेशका मुख्य प्रशिक्षकको रिपोर्ट पोजेटिभ आएको जनाएको छ। घरेलु टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम ढाकामा रहेको छ। नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ। बंगबन्धु रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एजेन्सी


























