कार्तिक २८ । स्कटल्याण्ड आगामी वर्ष आयोजना हुने युरोकपमा छनोट भएको छ। युरो छनोट अन्तर्गत बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्कटल्याण्ड युरोकपमा छनोट भएको हो।
निकै रोमान्चक बनेको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा स्कटल्याण्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे। सर्वियाका डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गरे। तर, एलेक्सान्डर मित्रोभिक भने गोल गर्न चुकेका थिए।
त्यसअघि खेलको ५२ औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाएका थिए। तर, खेलको ९० औं मिनेटमा लुका जोभिकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। यससँगै स्कटल्याण्ड २५ वर्षपछि युरोकप फुटबलमा छनोट भएको छ। यस अघि स्कटल्याण्डले १९९६ मा युरोकप खेलेको थियो।
यस्तै स्कटल्याण्ड सन् १९९८ पछि पहिलो पटक ठुलो प्रतियोगितामा छनोट हुन सफल भएको हो। पछिल्लो पटक स्कटल्याण्डले १९९८ मा विश्वकप खेलेको थियो। युरोकपमा स्कटल्याण्ड समूह ुडीु मा परेको छ। यस समूहमा इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक रहेका छन्। त्यस्तै स्लोभाकिया, हंगेरी र नर्थ म्यासेडोनिया पनि युरोकपमा छनोट भएका छन्। एजेन्सी


























