काठमाडौं, कार्तिक २७ । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ। ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो। अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ।
एन्फा स्रोतका अनुसार कोरोना देखिएको ती खेलाडीलाई अस्पतालको एकान्तबासमा राखिएको छ। उनको अवस्था सामान्य रहेको छ। खेलाडीको परिचय गोप्य राखिएको छ। कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।
नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो।
यस अघि नेपालमै गरिएको परिक्षणमा ७ खेलाडीमा कोरोना देखिएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।


























