कार्तिक २२ । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। फ्रान्सको पेरिसमा शुक्रबार राति भएको क्वाटरफाइनलमा स्पेनकै पाब्लो बुस्टालाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन्। हालै १ हजार जितको कोशेढुंगा पुरा गरेका नाडालले बुस्टालाई ४-६,७-५ र ६-१ को सेटमा पराजित गरे।
नाडाल टेनिसमा १ हजार जित निकाल्ने चौंथो खेलाडी हुन्। यस अघि जिमी कोर्नर्स, रोजर फेडेरर र इभान लेन्डेलले हजार जितको कोशेढुंगा पार गरेका थिए।
नाडालले गत महिना मात्र २० औं ग्राण्डस्लाम टेनिसको उपाधि जितेका थिए। फ्रेन्च ओपनको उपाधि जित्दै नाडालले फेडेररले बनाएको सर्वाधिक धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका थिए।
नाडालले अब सेमिफाइनलमा चौंथो वरीयताका एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन्। जेभरेभ स्टान वावरिन्कालाई ६-३ र ७-६ (७-१) को सेटमा पराजित गरे। एजेन्सी


























