आज अक्टोबर ३१ तारिख अर्थात् विश्व मस्तिष्कघात दिवस, अर्थात् ‘वर्ल्ड स्ट्राेक डे’।
स्ट्रोक के हो, कसरी बच्ने र जोखिम बढाउने कुराहरु के के हुन्? यदि भइहालेमा समयमै उपचार कसरी गर्नेलगायतका विषयमा चर्चा गरौँ।
के हो मस्तिष्कघात?
सामान्यतया मानव शरीरको एउटा सबैभन्दा महत्त्वपूर्ण अङ्ग ब्रेन अर्थात् दिमाग, जुन स्नायुप्रणालीअन्तर्गत पर्दछ। दिमागको कुनै पनि भागमा कुनै पनि कारणले रक्तसन्चार कम भई उक्त भागले काम गर्न असमर्थ हुनुलाई स्ट्रोक भनिन्छ। यो दुई प्रकारको हुन्छ। सामान्य भाषामा भन्नुपर्दा एउटा दिमागमा रगत बग्ने रक्तनली सुकेर या दिमागसम्म रगत पुर्याउन रक्तनलीका भित्ताहरुमा बोसो जमेर रक्तसन्चालन नभई मस्तिष्कघात हुने गर्छ, जस्लाई हामी Ischemic Stroke भन्ने गर्छौँ। अर्को, दिमागमा रक्तनली फुटेर रगत जमेपछि त्यो जमेको रगतले जुन भाग थिचेको हुन्छ, सोही चापको कारण उक्त भागले काम गर्न नसक्नुलाई Haemorrhagic stroke भन्छौँ।
हाम्रो दिमागको एक्दमै सानो-सानो विन्दुहरु सानो-सानो भागहरुले हाम्रो शरीरको अन्य अङ्गगहरुलाई नियन्त्रणमा राखेको हुन्छ। कुनै भागले हाम्रो हातखुट्टा चलाउन मद्दत गर्छन् त कुनैले हाम्रो बोली, श्रवण, श्वास, गन्ध, स्पर्श, दृष्टि, सचेत अवस्था, शरीरको सन्तुलन आदि कन्ट्रोल गर्छन्। तसर्थ जुन भागमा रक्तसन्चार बन्द हुन्छ या जुन भागमा रगत जमेर चाप परेको हुन्छ सोही भागले गर्ने काममा ह्रास आउँछ र सोही अनुसारको लक्षण देखा पर्ने गर्छन्।
सामान्यतया स्ट्रोकको लक्षणहरु दिमागको कुन भागमा असर परेको छ सोहीअनुसार निर्धारण हुन्छन्। सामान्यतया अचानक शरीरको आधा भाग नचल्ने या कमजोर हुनु कहिलेकाहीँ एउटा मात्रै हात या खुट्टा कम्जोर हुनु, मुख बाङ्गो हुने, खाना खाँदा अर्को साइडबाट पोखिने, बोली लर्बराउने, एक साइडको आँखा बन्द नहुनेलगायतका धेरै लक्षण देखिन सक्छन्। कहिलेकाहीँ व्यक्तिको व्यवहारमा परिवर्तन आउने, स्मरण शक्तिमा ह्रास आउने, दृष्टीमा समस्या हुने, व्यक्तिको चेतनामा कमि हुनेजस्ता लक्षणहरु पनि देखिन सक्छन्। यस्ता लक्षणहरु प्राय केही मिनेट या केही घन्टाभित्र अचानक देखिने गर्छन्। यदि टाउकोमा रगत जमेर मस्तिष्कघात भएको छ भने त्यो जमेको रगतले दिमागभित्रको प्रेसर बढ्न गई बेस्सरी टाउको दुख्ने, तारन्तार बान्ता भइरहने, हातखुट्टा फाल्ने, छारेरोग आउने, जिब्रो टोक्नेजस्ता लक्षणहरु बढी देखिन्छन्। कहिलेकाहीँ स्ट्रोकजस्तै लाग्ने तर अलि सामान्य जस्तै लाग्ने लक्षणहरु देखिएर २४ घण्टापछि आफैँ निको हुन्छन्, जस्लाइ हामी Transient Ischemic Attack भन्ने गर्छौँ। दिमागमा कुनै पनि कारणले थोरै समय रक्तसन्चारको कमि भएमा त्यस्तो समस्या देखिने गर्छ।
कसरी बढ्छ स्ट्रोकको जोखिम?
सामान्यतया उमेर बढ्दै गएपछि मस्तिष्कघातको जोखिम स्वतः बढ्दै जान्छ। त्यसमाथि पनि उच्च रक्तचाप, मधुमेह, मोटोपना, कुनै मुटुको रोग (Rheumatic heart diseases, Vulvular heart disease , Atrial fibrillation, Heart failure)ले पनि स्ट्रोकको जोखिम बढाउँछ। कुनै व्यक्तिले पहिला हृदयघात भएर रगत पातलो बनाउने औषधि सेवन गरिरहेको छ भने त्यसले पनि स्ट्रोकको जोखिम बढाउँछ। त्यसैगरी रगतमा कोलेस्टेरोल अर्थात् बोसोको मात्रा उच्च हुनु आफैँमा स्ट्रोकको एक्दम ठूलो जोखिम हो, जुन बोसोले दिमागमा रगत पुर्याउने रक्तनलीमा जमेर रगत बग्ने भाग साँघुरो बनाइदिन्छ। कहिलेकाहीँ युवा अवस्थामै पनि स्ट्रोक देखिन सक्छ। तर त्यो अलि न्यून पाइएको छ, जुन बंशानुगत केही तत्वहरुः जस्तै प्रोटिन सी, प्रोटिन एस आदिको अभावको कारण हुने गर्दछ। तसर्थ जुन जोखिम तत्वहरुहरुलाई नियन्त्रणमा राख्न सम्भव छ, ती जोखिम तत्वहरुलाई समयमै उपचार गरी नियन्त्रणमा राख्नु नै स्ट्रोकबाट बच्ने सजिलो उपाय हो।
कसरी पत्ता लाग्छ स्ट्रोक?
जब माथि उल्लेख गरिएजस्तै स्ट्रोकसँग मिल्ने लक्षणहरु देखिन्छन्, त्यसपछि बिरामीको अवस्था थप जटिल हुन नदिन तुरुन्तै अस्पताल लगिहाल्नु जरुरी छ। कतिपय व्यक्तिहरुले अस्पताल लैजानुअगावै गुगलबाट खोजेर रगत पातलो गर्ने औषधि किनेर खुवाउने गरेको पनि धेरै देखिएको छ। यदि टाउकोमा रगत जमेर स्ट्रोक भएको रहेछ भने त्यो रगत पातको गर्ने औषधिले बिरामीको अवस्था थप जटिल बनाउँछ। तसर्थ भुलेर पनि कहिल्यै त्यो गल्ती नगरौँ। जब हामिलाई कुनै बिरामीलाई मस्तिष्कघात भयो भन्ने शङ्का लाग्छ, सबैभन्दा पहिलो कदम भनेको तुरुन्तै अस्पताल पुर्याउने र त्यहाँ पहिलो स्टेप भनेको ब्लड प्रेसर नाप्ने काम हुन्छ। यदि पहिलादेखिकै उच्च रक्तचापको बिरामी हो भने र ब्लड प्रेसर १५०/९० भन्दा बढी छ भने मात्रै हामीले ब्लड प्रेसर घटाउने केही औषधि प्रयोग गर्छौँ। नत्र दिमागमा कमि भएको रक्तसन्चारलाई केही राहत दिन हाम्रो शरीरले आफैँ प्रेसर बढाएको हो, त्यसलाई घटाउनु हुन्न। त्यसपछिको कदम भनेको तुरुन्तै सिटिस्क्यान या एमआरआई गर्ने हो। सबैभन्दा पहिला Ischemic (रक्तनली सुकेको ) र Haemorrhagic (रक्तनली फुटेको) कुन हो भनेर यकिन गरेपछि मात्रै उपचार पद्दति अगाडि बढ्छ।
यदि नसा सुकेर या रक्तनलीमा बोसो जमेर रक्तसन्चार कम भई मस्तिषकघात भएको हो भने त्यसको परिवर्तन सिटीस्क्यान मा तुरुन्तै देखिन्न। करिब २/४ दिनपछि मात्रै देखिन्छ। यद्दपि रगतको नसा फुटेको हो भने तुरुन्तै देखिन्छ। यो बाहेक Angiography गरेर पनि कुन रक्तनलीमा बोसो जमेर रक्तसन्चार कमि भइरहेको छ थाहा पाउन सकिन्छ।
यदि Ischemic या रगतको नसा सुकेर भएको रहेछ भने तुरुन्तै Thrombectomy अर्थात् जमेको बोसोलाई निकालेर साँघुरो भएको रक्तनली खोल्ने विधि गर्न सम्भव भयो भने एक्दमै राम्रो उपचार। यो यदि यो सम्भव छैन भने ३ देखि ७ दिन्सम्म बिरामीको अवस्था थप जटिल हुन नदिन सघन उपचार कक्षमा राखी मोनिटर गर्नुपर्ने हुन्छ। किनकि रक्तसन्चार कमि भएर दिमागको जुन-जुन भागहरु मर्दै गएको छ, केही दिनसम्म त्यसको वरिपरिको भागहरु पनि सुन्निने र दिमागको प्रेसर बढ्ने सम्भावना रहन्छ। त्यतिभन्दा बाहेकको उपचार भनेको रगत पातलो गर्ने औषधि रगतमा चिनी कोलेस्टेरोलको मात्रा नियन्त्रण र हात खुट्टाको कम्जोरीको लागि लामो समयसम्म फिजियोथेरापी। एकचोटी मस्तिष्कघात भैसकेका विरामी पहिलाकै जस्तो सामान्य अवस्थामा आउन निकै गाह्राे पर्नेगर्छ। यद्दपि दिमागको कुन भागमा र कति भागमा मस्तिष्कघात भएको छ त्यसमा भर पर्छ। कतिपय बिरामी जीवनभर व्हील्चेयरमा जीवनयापन गर्न बाध्य हुन्छन् भने कतिपय बिरामी लामो समयसम्म फिजियोथेरापी गरेपछि ६ महिना 1 बर्षपछि सामान्य हिड्डुल गर्न सक्छन्।
यदि दिमागमा नसा फुटेर स्ट्रोक भएको छ भने भुलेर पनि रगत पातलो गर्न्रे औषधि चलाउन हुन्न थप रगत जम्ने गर्छ तसर्थ सानो साइजको रगत जमेको छ भने ब्लड प्रेसर घटाउने, टाउकोको प्रेसर घटाउने, बान्ता रोक्ने, छारेरोग आउन नदिने जस्ता औषधिहरु चलाइन्छ भने ठूलै भागमा रगत जमेको छ भने शल्यक्रिया गरी जमेको रगत निकाल्ने खप्परको हड्डी निकालेर दिमागगको प्रेसर घटाउने गरिन्छ।
अन्तमा स्ट्रोक अर्थात मस्तिष्कघात अहिलेको एकदमै धेरै देखिएको समस्या हो। केही हदसम्म हाम्रै लापरवाही र ऐस आराम मात्रै खोज्ने अवस्थ जीवशैलीको नतिजा पनि हो। तसर्थ समयमै जोखिम तत्वहरु चिनेर तिनीहरुको सही उपचार र व्यवस्थापन गर्नु एकदमै जरुरी छ। मस्तिष्कघात भइसकेपछि कस्लाई कतिसम्म जटिल हुन्छ र कति समयमा ठीक हुन्छ या हुँदैन या भनौँ जीवनको गुणस्तरमा के कतिको ह्रास आउँछ भन्ने यकीन गरेर भन्न सकिन्न। त्यसैले सबैभन्दा उत्तम उपाय भनेको मस्तिष्कघात हुन नदिने नै हो। यदि घर परिवार र छिमेकमा कोहीलाई भइसकेको छ। या कोहीको जीवनको गुणस्तर नै खस्किने गरी असर परेको छ भने पनि उनीहरुको सहारा बनिदिन नबिर्सौं। उनीहरुलाई सक्दो सहयोग गरौँ, उनीहरुलाई थोरै भए पनि सहज बनाइदिन केही भूमिका खेलौँ। उनीहरुको मनोबल उच्च राख्न माया प्रेम र स्नेह दिऔँ। भोलि त्यही व्हीलचेयरसम्म हामी आफैँ पनि पुग्न सक्छौँ। त्यही स्ट्रोककै कारण भोलि हाम्रो पनि त्यस्तै दिन आउन सक्छ। कसैको सहारामा बाँच्नुपर्ने हुन सक्छ। नाकबाट पाइप राखेर खानुपर्ने अवस्था पनि आउन सक्छ, जो कोहीको पनि। तसर्थ सतर्क बनौँ सकेसम्म शारिरीक र मानसिक दुबै तवरले मस्तिष्क जोगाऔँ। अनावश्यक तनाव लिन छोडौँ। स्वस्थ जीवनशैली अपनाऔँ। शारिरीक परिश्रम गरौँ। जिब्रोलाई मात्रै मनपर्ने खानेकुरा खान छोडौँ। योग, ध्यान र मेडिटेसन गरौँ। खुसी होऔँ अनि माया प्रेम स्नेह र खुसी सबैसँग बाँडौँ। लापरवाही र अस्वस्थ अनि तनावपूर्ण जीवन बाँचेर आफ्नो मस्तिष्कलाई घात नगरौँ। त्यसपछि हाम्रो मस्तिष्कले पनि हामीलाई घात गर्ने छैन।























