चितवन, कार्तिक १४ । मदन भण्डारी फाउण्डेशन चितवन क्षेत्र नं.१ को क्षेत्रीय समिति आज (शुक्रबार) गठन गरिएको छ। गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षहरुमा निर्मलकुमार श्रेष्ठ, सजना महतो, सीता भेटवाल, मुकुन्द दुवाडी र भरत भण्डारी रहेकाछन्। सचिवमा गोमान सिंह लामा, कोषाध्यक्षमा नगेन्द्र उप्रेती र सहसचिवमा कारिराम चौधरी चयन भएकाछन्। सल्लाहकार समितिमा मुकुन्द दाहाल, चन्द्रकान्त न्यौपाने, प्रेमनाथ दुवाडी, सिताराम पोखरेल, प्रदिप डल्लाकोटी, आनन्द दराई, भिष्मराज पाठक, श्रीधर उप्रेती र आईपि लामिछाने रहेकाछन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, अनेमसंघका केन्द्रीय सहसंयोजक एवं प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेलले नवगठिन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पार्टीमा अवसर केही नहुँदा झगडा पनि केही नहुने गरेको बताए। उनले भने “मानिसको स्वभाव नै त्यस्तो छ, मानव इतिहासको विकास क्रम हेर्ने हो भने पनि जबसम्म निजी सम्पत्तिको सिर्जना भएन, तबसम्म झैझगडा र द्वन्द्व कतै थिएन।” उनले अगाडि थपे “जब निजी सम्पत्तिको प्रचलन आयो, मानिसहरुमा पनि झगडा र द्वन्द्व बढ्यो, पार्टीमा पनि यस्तै भएको हो।” नेताहरुलाई यही कार्यकालभित्र प्रधानमन्त्री बन्न परेको बताउँदै उनले भने “पार्टी बनाउने र भोलिसम्म जनताको मन जितिरहन सकिन्छ भन्ने हाम्रै नेतामा पनि विश्वास छैन।”
उनले सरकारका राम्रा कामको प्रचार हुन नसकेको बताउँदै भने “यो सरकारले राम्रो काम गरोस्, गरेका राम्रा काम जनतासम्म पुर्याउन सकियो भने भोलि हामी सबै प्रधानमन्त्री बन्न सकिन्छ भन्ने चेतना हाम्रा नेताहरुमा पलाएन।”
कार्यक्रममा नेकपा बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, नेकपा बागमती प्रदेश समितिका सचिवालय सदस्य तथा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, फाउण्डेशन चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराई लगायतले जनताको बहुदलीय जनवाद (जबज) लाई आधार बनाएर अगाडि बढ्दा जनताको मन जित्न सकिएको र अहिलेको सरकार त्यसैको उदाहरण भएको बताए।
फाउण्डेशन जिल्ला उपाध्यक्ष भीम पुनको अध्यक्षतामा भएको कार्यक्रममा यादव पाठक, गोविन्द कँडेल, सीता भेटवाल, हरि पौडेललगायतका वक्ताहरुले बोलेका थिए।
मदन भण्डारी फाउण्डेशन चितवनले जिल्लाका सात वटै पालिका, तीन क्षेत्र र सबै वडामा फाउण्डेशन गठन गर्ने तयारी गरेको जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराईले सो अवसरमा जानकारी दिए। उनले पूर्वी चितवनका राप्ती र खैरहनी नगर समिति यस अघि नै गठन भईसकेको जानकारी दिंदै अन्य पालिका र क्षेत्रमा पनि छिट्टै गठन हुने तयारीमा रहेको बताए।
फाउण्डेशनले सामाजिक क्षेत्रका साथै राजनीतिक चेतना बृद्धि, जनताको बहुदलीय जनवादबारे जनस्तरसम्म पुर्याउने र विकास निर्माणमका संयोजनकारी भूमिकामा कार्य गर्दै आएको छ।

























