संस्मरण/ विष्णुमाया अधिकारी
एउटी छोरी, जसले परिवारबाट राम्रो अवसर पाउँछे र पढ्दै जान्छे। स्कुल, कलेज, विश्वविद्यालय हुँदै रोजगारी वा अन्य कुनै प्रगति पथतिर लम्किन्छे। मानिसको जीवन पनि कति परिवर्तनशील छ, कहिले हाँसो र रमणीय वातावरणमा रमाउँछ। त कहिले मुटु दुख्ने विरह र वेदनाको घुम्टोभित्र अल्मलिएको हुन्छ। कुरा दुई दशकभन्दा अगाडिको हो। करिब २०५१/५२ सालतिरको। जब म दस कक्षामा पढ्थें, तब ममा एक किसिमको जोश र जाँगर थियो। भविष्यमा केही गर्नुपर्छ भन्ने सोच पनि मनमा जागेको थियो।
मेरो विद्यालयस्तरको पढाइ (१-१० कक्षासम्म) घर नजिकैको भविष्य निर्माण माविमा भएको थियो। सानैदेखि पढाइ राम्रै थियो। जब म कक्षा दसमा पुगें, तब ममा ठूलो भएर समाजको लागि केही गर्नुपर्छ भन्ने लाग्न थालेको थियो। यस्तै योजना गर्दागर्दै कक्षा दशको अन्तिम परीक्षा पनि आइपुग्यो। राम्रै तयारीको साथ परीक्षा दिँदै थिएँ। जब दुइटा परीक्ष सकिएको थियो, तेस्रो परीक्षामा त म स्कुल नै जान सकिनँ। ज्वोरो र कान दुखेको कारण मलाई उभिएर हिंड्न गाह्रो भयो। म परीक्षा दिन नआएको कुरा प्रधानाध्यापकले थाहा पाउनुभएछ र घर र विद्यालय नजिकै भएकोले होला, मलाई लिन स्कुलको पालेदाइलाई घरमै पठाउनु भएछ। पालेदाइले ‘हाम्रो एकजना असल विद्यार्थीले अहिले परीक्षा छुटाउनु हुन्न, नत्र हाम्रो एसएलसीको उत्तीर्णको प्रतिशत घट्छ। टेस्टमा हाजिरमात्र गराइ उनलाई भन्न लगाइ हामीले नै लेखरै भए पनि परीक्षामा समावेश गराउनुपर्छ’ भनेर लिन पठाउनु भा’को भन्दा म रुँदैरुँदै सरको कुरा नकार्न नसकी सिटामोल खाएर विद्यालय गएँ र अफिस कोठामै बसेर परीक्षा दिएँ।
त्यो दिनको परीक्षासमयभर कहिले औषधि त कहिले कलमकापी गर्दै परीक्षा दिएँ। अस्वस्थ अवस्थामा परीक्षा दिँदा पनि म १२ नम्बरले दोश्रो भएछु। १२ नम्बरभन्दा बढी ल्याउन सकेको भए पहिलो नै हुने रै’छु। अब एसएलसीको राम्रो तयारी गरेर प्रथम हुनुपर्छ भन्ने हेतुले गाउँ कृस्तीबाट छोरेपाटनतिर लागेँ एसएलसीको तयारी गर्न। तर विधिको विधानलाई कस्ले नकार्न सक्दोरहेछ र एसएलसीमा पनि मेरो सोचेअनुसार भएन। रुटिन बुझाइमा गल्ती भएकोले गर्दा मेरो एसएलसीको परीक्षामा ऐच्छिक प्रथम र दितीयमा झुक्किएर स्वास्थ्य शिक्षा बिषयको परीक्षा नै छुटयो। म निराश भएँ। आफूले आफैंलाइ धिक्कार्न थालेँ। अनि निराश अवस्थामा अन्तिम परीक्षा अतिरिक्त गणित थियो त्यो दिएर घर फर्कें।
हरे! मेरो भाग्य के सोचेकी थिएँ के भयो अहिले, भन्दै मनमा अनेक अवरोह आउँदाआउँदै समय बितेको पत्तो नपाउँदै एसएलसीको नतिजा पनि आयो। म त्यतिबेला काठमाण्डौं मधु दिदी (फुपुदिदीको) घरमा थिएँ। सबैको चहलपहल कुन डिभिजनमा पास भैयो भन्दै पत्रिका र फोनको खोजीमा व्यस्त देखिन्थे। तर आफू भने परीक्षा दिँदा नै परीक्षा फल प्रकाशित गरी बसेको मान्छे, के नै पो हेर्नु थियो र ? आँसु नै आँसु मात्रै आफ्नो सोझो र कम्जोरपनलाई धिक्कार्नुबाहेक के नै पो बाँकी थियो र ? जताततै बाधा, अड्चन र असफलताको मझीरिमा पौडी खेल्दाखेल्दै केबल एउटा दक्ष प्राविधिक बनी देश र जनताको सेवा गर्ने खोक्रो आशा लिएर।
यसरी दिन बित्दै जाँदा एसएलसीको ‘मार्कसिट’ पनि आइपुग्यो। सुरुमै मार्कसिटमा अनुपस्थित भएको मैले के नै पो हेर्नु थियो र ? सानो दाजु स्कुल गएर मार्कसिट ल्याउनु भएको रहेछ। र, भन्नुभयो ‘छुटेको बिषयबाहेक नै फस्ट डिभिजन र उत्कृष्ट नम्बर रहेछ बहिनीको’। म निशब्ध भएँ। जताततै अन्धाकार, तिरिमिरी अनि सन्नाटा छायो। म मा केबल निराश मन अत्तालिनुबाहेक के नै पो बाँकी थियो र अब ? समय बित्दै गयो अहिलेको जस्तो २-३ महिनामा नै पुरक परीक्षा दिने चलन पनि थिएन। एकवर्ष कुर्नुपर्थ्यो पुनः परीक्षा दिन। सानो दाजुले कुरा निकाल्नुभयो एक दिन बहिनी अब छुटेको परीक्षा दिने कि के गर्ने भनेर। मैले भनें म पुनः दस कक्षामा पढ्छु र नियमित विद्यार्थी भएर एसएलसी दिन्छु। एउटा मात्र परीक्षा दिएर दुइटा मार्कसिट बनाउनेतर्फ लाग्दिनँ भन्दै पुनः दश कक्षा भर्ना भएँ। परीक्षा दिएँ ८० प्रतिशत अंक ल्याएर विद्यालयमा प्रथम भएँ। पुनः ममा नयाँ जोश पलायो। एकवर्ष ढिला भएको त हो नि। अब एसएलसी पनि राम्रो गर्छु भन्ने अठोट गरेर एसएलसीको तयारीमा लागेँ।
एसएलसी पनि आइपुग्यो। मैले उच्च मनोबलका साथ परीक्षा दिएँ। नतिजा पनि आयो। योवर्ष त ममा पनि एसएलसीको रिजल्ट खोज्ने मन पलाएको थियो। हतारहतार विद्यालय पुगेँ। मसँगै चारजना साथीहरु प्रथम डिभिजनमा पास भएका रहेछौं। हाम्रो जतिजा देखेर सरहरु पनि निकै खुसी हुनुभयो, बधाई दिनुभयो। यसरी हराएको मेरो खुसी पुनः आशारुपी दियालो सरी बल्न थाल्यो। र, अब उच्च शिक्षा प्राविधिक विषय नै पढ्नुपर्छ भन्ने सोचेर अगाडि बढें। समय बित्दै जाँदा एसएलसीको ‘मार्कसिट’ पनि आयो। एसएलसीमा पनि ७८ दशमलव ४२ प्रतिशत अंक ल्याई विद्यलय प्रथम भएकी रहेछु। खुसीले मन फुरुङ्ग भयो, एकपटक हराइसकेको खुसी फेरि आयो भनेर।
उच्च शिक्षा लिन पृथ्वीनारायण क्याम्पसमा साइन्समा फारम भरें। तर नर्सिङ पढ्न भनी क्याम्पस पनि छोडेर घर नजिकैको नवज्योति बोर्डिङमा पढाउन थालें। म क्याम्पस भर्ना हुन नाअएकोदेखि झपट रानाभाट दाजु मलाई घरमा लिन आउनुभएको रहेछ। तर म नर्सिङ पढ्ने हो दाजु म पिएन क्याम्पस भर्ना हुन्न भनी फर्काइदिएँ। झपट दाइ मेरा लागि हर सुखदुःखको सहयात्री हुनुथ्यो र हुनुहुन्छ। म अहिले जुन अवस्थामा छु वहाँकै प्रेरणाबाट म यहाँ आइपुगेकी हुँ। म वहाँप्रति कृतज्ञ छु। अनि मलाई पढ्नको लागि आर्थिक र मनोवैज्ञानिकरूपमा सहयोग गर्ने मेरो सानो दाजु लक्ष्मण अधिकारीप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछु।
त्यतिबेला सरकारी नर्सिङ क्याम्पसमा फारम अल्लि ढिलो खुल्थ्यो, फारम खुलेको कुरा गाविसको फोनबाट थाहा पाएँ। फोन गर्नुहुने माडीको चित्रा तिवारी दिदीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। वहाँसँग सानो दाजुको कानको अप्रेसन गर्न गण्डकी अस्पतालको इएनटी वार्डमा भेट भएको थियो। मेरो दाजु वहाँको केस स्टडी प्यासेन्ट हुनुहुन्थ्यो। त्यसैले सम्बन्ध नजिक भएको थियो। म पनि हजुर जस्तै नर्स बन्ने हो भन्दा खुसी भएर मलाई पूर्व तयारीको लागि संभावित प्रश्न दिनुभएको थियो। अनि फारम भर्न पनि सघाउनुभयो। प्रवेश परीक्षा दिएँ २०५५ सालको फागुन ११ गते शनिबार। नाम निस्कियो पोखरा नर्सिङ क्याम्पसमा। अनि भर्ना भएँ र पढ्न थालें २०५५ चैतदेखि।
फ्लोरेन्सको अनुयायी बनी जनता र बिरामीको सेवा गर्ने भावना बोकी देशको दक्ष प्राविधिक बन्ने आशमा। आफ्नो तीन वर्षे पढाइ अवधिमा राम्रो पढाइ गरी प्रथम श्रेणीमा उत्तीर्ण भएँ। २०५७ साल फागुन १४ गते सम्पन्न भएको स्ववियु चुनावमा सभापतिमा बहुमतले निर्वाचित पनि भएँ। र विद्यर्थीको हकहितमा आफ्नो मत राख्दै तीनवर्षे पढाइ अवधि सकाएँ र लागें आफ्नो उद्देश्यअनुरुप नर्सिङ पेशामा। यो पेशामा प्रवेश गरेको पनि दुई दशक भइसकेछ। सेवामा समर्पित हुँदाहुँदै अनेक उतारचढावका वावबुद पेशागत जीवन बितिरहेको छ। अग्रपंक्तिमा रहेर कर्तव्य निर्वाह गर्ने क्रममा २०७७ असोज २९ गते बिरामीको हेरचाहकै क्रममा एक जना सहकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। र, हामी विभागको सबैले कोरोना परीक्षण गरायौँ, जसमा हामी ८ जना कर्मचारीको कोरोना पोजेटिभ रिपोर्ट आयो, जसमध्ये म पनि एक हुँ।
सबैभन्दा पहिले आँखा बिझायो। अनि रातो भयो। त्यसपछि त जिउ पूरै दुख्दैदुख्दै गयो। शरीर गल्दै गयो। टाउको दुख्यो। त्यही राति कम्पन हुँदै ज्वरो आयो। मनमा चिन्ताले बास गर्यो। त्यही दिनबाट सजग हुँदै क्वारेन्टाइन गएँ। भोलिपल्ट आरटी-पीसीआर दिँदा हामी सबैको रिपोर्ट पोजेटिभ आएको हो।
नर्सिङ अयध्यनकै क्रममा चितवन फूलवारी निवासी केशवराज सापकोटासँग २०५८ बैशाख २ गते वैवाहिक बन्धनमा बाँधिएर पारिवारिक जीवन अगाडि बढाएको पनि झन्डै २० वर्ष पुग्न लागेछ। अहिले म तीन सन्तानको आमाको भूमिकामा छु। अनि चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सिनियर नर्सको रूपमा पनि। स्वास्थ शिक्षामा बीएड अनि अस्पताल नर्सिङ बिषयमा बीएन साथै समाज शास्त्रमा मास्टर पास गरेकी छु।
त्यसैले मलाई लाग्छ, हामी हिँडिरहेको बाटोमा कुनै बाधा आएन भने त्यो बाटोमा हिँडेर हामीले प्रगति गर्न सक्दैनौं। हामीले जीतको खुशियाली हैन, हारेर पनि फेरि उठ्नुको खुसीयाली मनाउन सक्नुपर्छ। सुख दुःख, सफलता/असफलता सधैँ रहिरहँदैन। र, हरेक काममा सफलता हासिल गर्नको लागि हामीलाई दृढ संकल्प र दृढ इच्छाशक्ति चाहिन्छ। त्यसैले मलाई लाग्छ,
जीवन हाँसो र रोदनको मिश्रण हो।
विरह र वेदनाको खुड्किला जस्तो हो।
सफलता र असफलताबीचको दोभान हो।
दिनको वास्तविकता र रातको सपना हो।
भोग्नेको भोगाइ र सम्झनेको कल्पना हो।
सुख र दुःखको गीत हो।
(लेखक रजिस्टर्ड नर्स हुन् र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा कार्यरत छिन्)
























