कार्तिक १२ । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज (बुधबार) दुई ठुला क्लब युभेन्ट्स र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘जी’ मा रहेको युभेन्ट्सले घरेलु मैदानमा बार्सिलोनासँग खेल्नेछ। युभेन्ट्स र बार्सिलोनाबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ। टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ। तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन। समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो।
तर, बार्सिलोनाविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेल्ने सम्भावना कम रहेको छ। कोरोना संक्रमण भएपछि रोनाल्डो सेल्फ आईसोलेसनमा रहेका छन्। रोनाल्डोबारे युभेन्ट्सले केहि बताएको छैन। रोनाल्डोले नेसन्स लिग अन्तर्गत अक्टोबर ११ मा फ्रान्ससँगको खेल पछि खेलेका छैनन्।
यता, बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ। बार्सिलोनाले पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको थियो। बार्सिलोना टुरिनमै युभेन्ट्सलाई हराउने योजनामा हुनेछ। युभेन्ट्सविरुद्ध बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो खेल्ने छैनन्। चोटका कारण उनी टिम बाहिर रहेका छन्। यस समूहमा ३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ। ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा किभ र एफटिसी खेल्ने छन्। एजेन्सी


























