कार्तिक ११ । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ भ्रमणमा आएका छन्। भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ सोमबार भारतको राजधानी नयाँ दिल्ली आएका हुन्।
बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ।
छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने अधिकारीहरुले जनाएका छन्। मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो। भारत प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भारत लगायतका केही दक्षिण एसियाली मुलुक भ्रमणमा निस्किएको जनाएका थिए। उनी भारतसँगै श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको पनि भ्रमणमा निस्किएका हुन्।
स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउन भ्रमण केन्द्रित हुने उनले बताएका छन्।
भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तरक्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए। एजेन्सी


























