काठमाडौं, कार्तिक ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन्। वरिष्ठ नेता नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन्।
ट्विटरमा उनले लेखेका छन्, ‘लेखिएको छ, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ।’
अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रअ प्रमुखसँग भेट नभएको जनाएका छन्। उनको सचिवालयले विज्ञप्ति नै निकालेर ‘रअ प्रमुखसँग प्रचण्डसँग भेटवार्ता’ भएको भनेर आएका समाचारको खण्डन गरेको छ। बुधबार दिउँसो नेपाल आएका रअ प्रमुख गोयल बिहीबार भारत फर्किसकेका छन्।


























