काठमाडौं, कार्तिक ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद झनै पेचिलो बन्न पुगेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव मिलाउन राजधानी आएका बेला शाहीले नियुक्त गरेका सचेतक सीता नेपालीले संसदीय दलको बैठक आाव्हानपछि विवाद झन बल्झिएको हो। सचेतक नेपालीले बैठक बोलाएपछि शाही पक्षका नेताहरु कर्णाली फर्केका छन्।
केन्द्रमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा देखिएको विवादबारे सहमति हुन नसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली कर्णाली फर्किन लागेको हो।
असोज ७ मा कर्णाली प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक सीता नेपाली राखेको संसदीय दलको बैठकमा उपस्थित हुनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षीय नेताहरु कर्णाली फर्किन लागेका हुन्। अध्यक्षद्वय निर्णयमा पुग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने रणानीति बनाएको देखिन्छ।
‘भोली ७ गते ११ बजे संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको छ।’ नेकपा संसदीय दलका सचेतक कुर्मराज शाहीले भने,‘अब मुख्यमन्त्रीले दलको बैठकमा अविश्वासको प्रस्तावलाई सामना गर्नुहुन्छ।’
सचेतक शाहीले अविश्वासको प्रस्ताव सामना गर्ने ७ जना सांसदले दलका नेता तथा मुुख्यमन्त्री शाही विरुद्ध पेश अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए। ‘अविश्वासको प्रस्ताव पेश गर्ने समूह अहिले अल्पमतमा परेको छ।’ उनले भने,‘अविश्वासको प्रस्ताव पेश गर्ने मलगाएतका ७ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका छौं।’
आफूविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्ड निकट शाहीले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदसँग सहमति गरेका छन्। उक्त सहमति अनुसार सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरिएको छ। नेपाल पक्षलाई थप तीन मन्त्री दिने तयारी शाहीको छ।
मुख्यमन्त्री शाहीले संसदीय दलको प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाहले दलको प्रमुख सचेतक सिता नेपालीले बोलाएको बैठकमा उपस्थित नहुने बताएका छन्। ‘हामी अबैधानिक प्रमुख सचेतकले बोलाएको बैठकमा अपस्थित हुँदैनौं।’ उनले भने,‘भोली संसदीय दलको बैठक बोलाएको बारे जानकारी नै छैन्।’ बिहीबार अध्यक्षद्वय बीच भएको सहमति अनुसार अगाडी बढ्ने त्यसको उल्लघन कसैले गर्न नपाउने शाहले बताए।


























