काठमाडौं, कार्तिक ३ । कोरोना भाइरस संक्रमितले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको निर्णयको साझा पार्टीले भत्र्सना गरेको छ। पार्टीका प्रवक्त शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नै नागरिकलाई ‘पैसा भए बाँच, नभए मर’ भन्नु क्रूरता भएको बताएका हुन्। ‘महाव्याधिका बेला जनतालाई, अप्रत्यक्षरूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो,’ विज्ञप्तिमा भनिएको छ।
सरकारी निर्णय संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेशको समेत विरुद्ध भएकोले यो निर्णय तत्काल सच्याउन साझाले आग्रह समेत गरेको छ। साझाले महामारीकै बीचमा सांसदलाई अरबौँ रकम बाँड्ने सरकारले ‘हामी आम नागरिकको उपचार गर्न सक्दैनौं’ भन्नु राष्ट्रिय लज्जाको विषय भएको बताएको छ।
सरकारले आइतबारदेखि नै लागू हुने गरी कोरोना परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने निर्णय गरेको छ। उक्त निर्णय अस्पतालहरुले लागूसमेत गरिसकेका छन्।

























