काठमाडौं, कार्तिक २ । कर्णाली विवादबारे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भइरहेको छ। आइतबार दिउँसो ४ बजेदेखि छलफल सुरु भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको हो।
कर्णालीका विषयमा दुई अध्यक्षले संभवतः आइतबार टुंगो लगाउने सचिवालय स्रोतको भनाइ छ। ‘संभवतः कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी विवाद मिल्न सक्ने संभावना छ,’ ओली सचिवालय स्रोतले भनेको छ।
गत बिहिवार र शुक्रबार प्रचण्डले प्रदेश स्तरका नेताहरूलाई खुमलटार बोलाएर रिपोर्टिङ लिएका थिए। शनिबार प्रधानमन्त्रीले कर्णालीका मुख्यमन्त्रीसहित नेतासँग रिपोर्टिङ लिएका थिए। सो क्रममा ओलीले अध्यक्षद्वयको सुझाव मान्न प्रदेशस्तरका नेताहरूलाई आग्रह गरेका थिए।
कर्णाली विद्रोहबारे आइतबारकै लागि कर्णालीका मुख्यमन्त्रीसहित अन्य नेताहरूसँग छलफल गर्ने भनिए पनि सोबारे ओली-प्रचण्डले एकै धारणा बनाउन ढिला हुँदा प्रदेशस्तरका नेता तथा मुख्यमन्त्रीहरूसँग पनि छलफल हुन सकेको छैन।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओली र प्रचण्डले पत्र काटेर तुरुन्त काठमाडौंमा आउन भनेका थिए।


























