मकवानपुर, कार्तिक २ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाको प्रकोपका कारण लकडाउन र निषेधाज्ञाका कारण जिल्लाको राक्सिरागं गाउँपालिकाले तीनमहिनामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममध्ये २० देखि २५ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ। कोरोना सङ्क्रमणको नियन्त्रण तथा केही भौतिक पूर्वाधार विस्तारको काम सम्पन्न भएको र केही निर्माणका क्रममा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए। प्राप्त विवरणअनुसार भत्किएका सडक मर्मत र नयाँ सडक निर्माणका साथै गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चेपाङ्ग सङ्ग्राहालय स्थापनार्थ भवन निर्माणलगायत काम हो।
गाउँपालिकाले उपभोक्ता समितिमार्फत कोरोना अस्पताल निर्माणको काम गरिरहेको र छिटै सम्पन्न हुने बताएको छ। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत स्वास्थ्य सुरक्षाका सामाग्री वितरण र सम्भावित सङ्क्रमितलाई सावधानी अपनाउन पहल गर्ने र उनीहरूलाई आइसोलेशन कक्षमा राखेर उपचारात्मक कार्य गर्दै आएको जनाएको छ। उक्त गाउँपालिकाले एकल महिला,बालबालिका र सुत्केरीका लागि पनि उल्लेखनीय कार्य गर्दै आएको आयमुलक तालिम पनि सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ। रासस


























