काठमाडौं, कार्तिक २ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन्। भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते। उनले ६ दशमलव ७६ अंक जोडे।
यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए। भिजनसंगै समान ६ दशमलव ७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए। प्रेजेन्टेसनका आधारमा महेशपछि परेका हुन्। प्रेजेन्टेसनमा भिजनले ३ दशमलव ८३ तथा महेशले ३ दशमलव ८० अंक जोडे। युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे। उनले ६ दशमलव ३० अंक बटुले। सोही स्पर्धाको महिलामा ६ दशमलव ६३ अंकसाथ मेलिना राईले शीर्ष स्थान हात पारिन्। ६ दशमलव ३६ अंकसाथ प्रगति कुइकेल दोश्रो भइन्।
पुरुष १४ वर्षमा ६ दशमलव ०६ अंक जोड्दै प्रजुन कुइकेल पहिलो भए। पुरुष १२–१४ वर्षमा आयुश ढुंगेल दोश्रो भए। उनले ५ दशमलव ९३ अंक ल्याए।एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे।
सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए। आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए। ६ दशमलव २६ अंकमा प्रशन्न पाँचौं तथा ५ दशमलव ९० अंकमा आयुश छैटौं भए। प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए। अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ।
प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए।प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो।


























