कार्तिक १ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन्। बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैटौं जितको खोजीमा हुनेछन्। अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ। विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ। राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ। तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन।
राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ। बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ। यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो।
बैंगलोरविरुद्ध राजस्थानले कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन्। बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























