काठमाडौं, असोज ३० । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुमति दिएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो।
एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो। राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। फिफाको विन्डोको मिति अनुसार नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ। राष्ट्रिय टिममा व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको तयारी गरेको बताए।
‘बंगलादेशसनाग एक मैत्रीपूर्ण खेल पक्का हो। हामीले दुई खेलका लागि प्रस्ताव गरेका छौँ। बंगलादेश सरकारको अनुमतिपछि मिति तय हुन्छ,’ उपाध्यायले भने। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन। २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो।


























