चितवन, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ। शुक्रबार विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिँदै उनले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन आह्वान गरेकाछन्।
प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दिगो विकासको लक्ष्य प्राप्त गर्न खाद्य दिवसले अवसर सिर्जना गर्ने विश्वास व्यक्तसमेत गरेकाछन्। साथै कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषय संघ, प्रदेश र पालिकाको अधिकार सूचीमा रहेको भन्दै तीनै तहका सरकारको समन्वयात्मक प्रयास हुनुपर्नेमा उनको जोड छ।
‘विश्व खाद्य दिवसः हाम्रो पहल दिगो कृषि, पोषिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस आज नेपालमा पनि मनाइँदैछ। दिवसका अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम समेत आयोजना गरिएको छ।


























