चितवन असोज २९ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले सिद्धिका ६ जना किसानलाई विहीवार मौरीको घार वितरण गरेको छ। इम्प्याक्टले सञ्चालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने किसानहरुलाई जनही २०/२० वटा मौरीको घार वितरण गरेको हो।
पाँच घार सम्बन्धित किसानले खरिद गर्नुपर्ने गरी २०/२० घर मौरी प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जनाकारी दिए। विहीवार वडा नं १० का नरबहादुर तामाङ,कविराज तामाङ,सुर्यबहादुर सुनार र वडा नं ११ का प्रदिप चेपाङ,मित्रलाल चेपाङ र बुद्धिबहादुर चेपाङलाई मौरीको घार प्रदान गरिएको हो। रत्ननगरका मौरीपालक किसान सुर्य मानन्धरको फर्ममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगरका मेयर नारायण वन र इम्प्याक्टका अध्यक्ष गिरीले ६ जना युवाहरुलाई मौरीको घार हस्तान्तरण गरेका थिए।
सो अबसरमा कालिकाका मेयर श्रेष्ठले सिद्धिका युवाहरुलाई व्यवसायिक बनाउन सपना भिलेज संग सहकार्य गरी मौरी सहितको घार प्रदान गरिएको भन्दै उपलब्धी हासिल गर्ने गरी मौरीपालन व्यवसाय सञ्चालन गर्न आग्रह गरे। रत्ननगरका मेयर वनले स्थानीय सरकार र सपना भिलेजको सहकार्यमा भएको विपन्न बर्ग उत्थान कार्यक्रम उदाहरणीय रहेको भन्दै मौरीपालनबाट चेपाङ समुदायको आर्थिक अबस्था सुधार हुनेमा विश्वास व्यक्त गरे। इम्याक्टका अध्यक्ष गिरीले विहीवार १३ लाख ८० हजार मुल्य बराबरको १२० वटा मौरीको घार वितरण गरिएको जानकारी दिए। त्यसमा ३ लाख रुपैया कालिका नगरपालिकाले लगानी गरेको छ।
स्थानीय सरकार,किसान र सपना भिलेजको त्रिपक्षिय लगानीमा व्यवसायिक रुपमा मौरीपालन गर्ने गरी मौरी सहितको घार प्रदान गरिएको बताए। अहिले मौरीको घार प्राप्त गरेका युवाहरुले तीन बर्ष भित्र २० घर मौरी फिर्ता गर्नुपर्ने हुन्छ। पहिलो र दोश्रो बर्ष पाँच पाँच घार र तेश्रो बर्ष १० घार मौरी फिर्ता गर्नुपर्ने र फिर्ता गर्न नसके क्षतिपूर्ति तिर्नुपर्ने गरी त्रिपक्षिय सहमति गरिएको इम्प्याक्टका म्यानेजर अनिल अर्यालले जानकारी दिए। गत बर्ष सपना भिलेजले सिद्धिका १० जना युवाहरुलाई २०० घर वितरण गरिएको थियो। इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मी, वडा नं १० का वडाध्यक्ष दीलबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा इम्प्याक्टका म्यानेजर मीनराज सापकोटाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए।


























