चितवन, असाेज २९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले तीव्र गतिमा सवारी चलाएकाे भन्दै ३५ जना सवारी चालकलाई कारवाही गरेकाे छ। बिहीबार भरतपुरकाे आँपटारीमा दिउँसाे १ देखि ३ बजेसम्म गरिएकाे चेकजाँचका क्रममा ३५ सवारी चालकलाई कारवाही गर्नुका साथै सचेत गराएर छाडेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ। प्रहरीले सवारी साधनकाे गति मापनकाे लागि लाइडर गनकाे प्रयाेग गरेकाे थियाे।
सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लामा गति मापन गरी कारवाही गर्ने गरेकाे ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। जिल्लाका दुर्घटना जाेखिमयुक्त स्थानहरूमा तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले अत्याधुनिक लाइडर गनमार्फत् जाँच गरेर तीव्र गतिमा सवारी चलाउने ३५ जना सवारीचालकलाई फाेटाे/ भिडियाे र गति मापन प्रिन्ट प्रतिसहित कारबाही एवं सचेतना गरिएकाे उनले बताए।
उनका अनुसार कारबाहीमा परेका सवारीसाधन ९६ किमी प्रतिघण्टासम्मकाे गतिमा कुदेका भेटिएका थिए। अधिकाशं गम्भीर प्रकृतिकाे दुर्घटना तीव्र गतिका कारण हुने गरेकाे ट्राफिक प्रहरीकाे भनाइ छ। ‘त्यसैले सडकमा खेलाँची नगराैं, संयमित र अनुशासित भएर सवारी चलाओैं, दुर्घटनाबाट बचाैं र बचाओैं, उनले भने। जिल्लाकाे सवारी दुर्घटनाकाे संख्या कम गर्नकाे लागि याे कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए।
























