असोज २७ । फिफा विश्वकप छनोटमा आज (मंगलबार) राति अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा हुँदैछ। दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्ने लागेको हो।
बोलिभिया र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ। लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार दोस्रो जित निकाल्न चाहन्छ। अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई १-० ले हराएको थियो। जुन खेलमा मेस्सीले निर्णायक गोल गरेका थिए। अर्जेन्टिना १ खेलमा ३ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ।
बोलिभिया भने पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा बोलिभिया ब्राजिलसँग ५-० ले पराजित भएको थियो। बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ। अर्को खेलमा उरुग्वेले इक्वेडरसँग खेल्नेछ। दुई टोलीबीचको खेल राति पौने ३ बजे सुरु हुनेछ। यस्तै राति पौने ४ बजे सुरु हुने खेलमा भेनेजुएला र पराग्वे भिड्ने छन्।
ब्राजिलले भने बुधबार बिहान पेरुसँग खेल्नेछ। ब्राजिल र पेरुबीचको खेल बिहान पौने ६ बजे सुरु हुनेछ। बुधबार बिहान हुने अर्को खेलमा कोलम्बिया र चिली भिड्ने छन्। एजेन्सी


























