चितवन, असोज २७ । चाडबाडलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज (मंगलबार) बढी मानिसहरुको भीडभाड हुने क्षेत्र नारायणगढको पुल्चोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायता कक्ष स्थापना गरेको हो। यस कक्ष स्थापनाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले सहयोगी भूमिका निर्वाह गरेको छ।
चाडबाडका बेला समस्यामा परेका यात्रु र व्यक्तिहरुलाई समयमै उद्धार र सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए। उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए।
सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले औनपचारिक रुपमा उद्घाटन गरे। सो क्रममा बोल्दै प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकोले सोही अनुरुप मनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटनाहरु हुन नदिन प्रहरी सतर्क रहेको बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले निर्देशन अनुरुप नै यातायात व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्ने बताए।
चाडपर्व नजिकिदैँ जाँदा सार्वजनिक सवारीहरूमा हुन सक्ने यात्रुहरुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमता भन्दा बढी यात्रा चढाउने, टिकटमा कालोबजारी गर्ने जस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग ट्राफिक प्रमुख भट्टले बताए।
यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन्। कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, यातायात व्यवसायीका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।


























