असोज २५ । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतबार) साविक विजेता पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन्। फ्रान्समा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगल गरेलु टोलीलाई हराएर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग ‘ए’ को समूह तीनको शीर्ष स्थानमा रहेको छ। पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४-१ ले हराएको थियो। यस्तै दोस्रो खेलमा स्विडेनलाई २-० ले हराएको थियो।
यता, फ्रान्स पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ। विश्वकप विजेत फ्रान्स अघिल्ला २ खेलमा अपराजित रहेको छ। समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। फ्रान्सले पहिलो खेलमा स्विडेनलाई १-० ले हराएको थियो। यस्तै दोस्रो खेलमा क्रोएसियालाई ४-२ ले हराएको थियो।
यसै समूहको अर्को खेलमा स्विडेन र क्रोएसियाबीच खेल हुनेछ। दुबै टिम पहिलो जितको खोजीमा हुनेछ। लिग ‘ए’ समूह १ को खेलमा इटालीले पोल्याण्डसँग खेल्नेछ। यस समूहमा २ खेलमा ४ अंक जोडेको इटाली शीर्ष स्थानमा रहेको छ। पोल्याण्ड ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनासँग खेल्नेछ। एजेन्सी


























