असोज २४ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा चेन्नई आफ्नो सातौं र बैंगलोर छैटौं खेलका लागि मैदान उत्रने छन्। चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन्। अघिल्ला ६ खेलमा चेन्नईले २ जित र ४ हार व्यहोरेको थियो। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ। तर, चेन्नई बैंगलोरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरलाई हराउन चेन्नईलाई सहज भने छैन।
बैंगलोर पनि चेन्नईलाई हराएर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ। बैंगलोरले अघिल्ला ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो। ६ अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ।
बैंगलोरले चेन्नईविरुद्ध कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडी मैदान उतार्ने छन्। चेन्नईसँग भने धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी


























