काठमाडौं, असोज २२ । सरकारले विभिन्न ३ देशका लागि राजदूतको सिफरिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको छ। जसअनुसार समितिले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई नियुक्ति दिन उपयुक्त नभए प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।
उजुरी कात्तिक १ भित्र दिनुपर्ने समितिले जनाएको छ। सूचनामा भनिएको छ, ‘उक्त पदमा उहँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवमु सबुद प्रमाणसहित मिति २०७७ कात्तिक १ गते कार्यालय समयभित्र यस समिति समक्ष उजुरी दिन सकिने व्यहोरा सूचित गरिन्छ।’
सरकारले हालै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा.निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो। संसदीय समितिले सुनुवाइ सकेपनि राष्ट्रपतिले उनीहरुलाई राजदूत पदमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। पार्टीमा छलफल नगरी सरकारले गरेको सो नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाभित्रै असन्तुष्टि देखिएको छ।


























