परासी, असोज १९ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ। नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
नगरको आफ्नो छुट्टै निशान छाप बनाएर प्रयोगमा ल्याउने बर्दघाट पश्चिम नवलपरासिकै पहिलो स्थानीय तह हो। नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने छाप निर्माण गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए।
नगरपालिकाको निशान छाप स्थानीय कलाकार सुशील सौरभले बनाएकाहुन्। छापको शिरमा नगरकै सबैभन्दा अग्लो स्थानमा रहेको ऐतिहासिक एवं पर्यटकीयस्थल संसारकोट र त्यहाँ रहेको मन्दिर अङ्कित छ भने चुरे वन क्षेत्र, राष्ट्रिय झण्डा, नगरपालिकाको भौगोलिक नक्शा र नगरपालिकाभित्रै रहेको ऐतिहासिक बुद्धमङ्गल तालमा पाइने कमलको फूललाई पनि छापमा समावेश गरिएको छ।
सन्सारकोट तत्कालीन ऐतिहासिक पाल्पा राज्यसँग सम्बन्धित क्षेत्र हो भने बुद्धमङ्गल ताल बुद्धकालीन ताल हो। वडा नं ५ प्रदेशको पूर्वी प्रवेशद्वार हुनुका साथै यो प्रदेश बुद्धभूमि पनि भएकाले त्यसको पहिचान झल्काउन शान्तिको प्रतिक पहँेलो रङ्ग पनि छापमा प्रयोग गरिएको नगर प्रमुख बस्यालले बताए।
नगरपालिकाको छापमा नगरको समथर भूमि र यहाँ उब्जाउ हुने उत्पादनको पहिचानसमेत झल्किएको छ। समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर छाप बनाइएको नगरपालिकाले जनाएको छ। रासस


























