बुटवल, असोज १९ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान ७ बजेका लागि बोलाइएको प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरू भएको छ। बैठक ११ बजेपछि सुरू भएको हो।
मुख्यमन्त्री शंकर पोखरेल ढिला आएकाले बैठक ढिला गरी सुरू भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए। कडा सुरक्षाको बीच बैठक सुरु भएको छ। बैठकस्थल बाहिर व्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ।
मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव प्रदेशसभामा पेस भएको छ। उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक समेत डाकिएको छ।
केही बेरअघि प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा समेत दिएका छन्। सांसद श्रेष्ठ संसदीय दलको बैठकमा अनुपस्थित छन्।


























