असोज १९ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ। आइतबार राति १० खेलाडीमा सिमित युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो। घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो।
खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। एन्थोनी मार्सियललाई टोटेनहमका सान्चेजले पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।
तर, खेलको चौंथो मिनेटमा टानगुए एनडोमबेलेले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए। खेलको सातौं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए। २८ औं मिनेटमा मार्सियल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटियो। जसको फाइदा टोटेनहमले उठायो।
खेलको २० औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए। ३७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम ४-१ ले अघि रह्यो। खेलको ५१ औं मिनेटमा सर्जी अरियरले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए।
त्यसपछि खेलको ७९ औं मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए। जितसँगै टोटेनहम ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। टोटेनहको यो दोस्रो जित हो। युनाइटेडको यो दोस्रो हार हो। ३ खेलमा ३ अंक जोडेको युनाइटेड १६ औं स्थानमा रहेको छ। एजेन्सी


























