काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत ६ जनामा कोरोना संक्रमण देखिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री सचिवालयमा कार्यरत ६ जनाको रिपोर्ट पोजेटिभ आउँदा प्रधानमन्त्री ओलीको रिपोर्ट भने, नेगेटिभ आएको हो।
प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश वज्राचार्य, दिपेन्द्र दाहालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ।
शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, फोटोग्राफर राजन काफ्ले र प्रेस विज्ञका एकजना चालकको रिपोर्ट पोजेटिभ आएको हो।
प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंको रिपोर्ट भने आउन बाँकी रहे पनि उनका चालकको रिपोर्ट भने पोजेटिभ आएको छ। ‘मेरो रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म आएको छैन। मेरो चालकलाई भने पोजेटिभ देखिएको छ। बाँकी साथीहरूको पनि व्यक्तिगत रूपमा रिपोर्ट आउने भएकाले सबैको जानकारी हुन सकेन’, बजगाईंले भने।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढ्दै जाँदा प्रधानमन्त्री ओली सहित सचिवालयका सदस्यहरूले शुक्रबार परीक्षणका लागि स्वाब दिएका थिए।


























