काठमाडौं, असोज ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन्।
आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए।
सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिकामा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ। जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए। शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनुपर्ने पोखरेलको भनाइ छ।
पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने पोखरेलले बताए।
बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ। यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ।

























