काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको बताएका छन्। साथै उनले सरकारलाई जनताको स्वास्थ्यको कुनैपनि चिन्ता नरहेको आरोप लगाएका छन्।
सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १९औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चिन्ता नरहेको बताएका छन्।
उनले सरकार मस्त निन्द्रामा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको बताएका छन्। उनले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले जीवन रक्षा गर्न आग्रह गरेका छन्।
उनले भनेका छन् “२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने। त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन रक्षा गर! सहमतिको पालना गर ! ”


























