काठमाडौं, असोज १५ । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ। क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो।
क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ। गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो।
क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो। तर, संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो। क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।


























