असोज १५ । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो।
बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे। डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल फर्काए।
बायर्नको यो सिजनको दोस्रो उपाधि हो। यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो। घरेलु मैदानमा खेलको १८ औं मिनेटमा टोलिसोको गोलबाट बायर्नले अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २-२ गोलको बराबरीमा ल्याए। तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३-२ जित दिलाए। यससँगै बायर्नले सिजनको पहिलो उपाधि जितेको छ। यस्तै बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो। एजेन्सी


























