असोज १० । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) साविक विजेता रियल मड्रिडले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ। रियलले सिजनको दोस्रो खेलमा बेटिससँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। बेटिसको मैदानमा रियल पहिलो जितको खोजीमा हुनेछ। रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो।
तर, दोस्रो खेलमा भने रियल ३ अंक जोड्न चाहन्छ। तर, घरेलु टोलीलाई हराउन रियललाई कठिन भने हुनेछ। बेटिस रियललाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ। अघिल्ला दुई खेलमा जित निकालेको बेटिस ६ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा डिपोर्टिभो अल्भेसलाई हराएको बेटिसले दोस्रो खेलमा रियल भालाडोलिडलाई हराएको थियो। ला लिगा अन्तर्गत नै अर्को खेलमा डिपोर्टिभो अल्भेसले गेटाफेसँग खेल्नेछ।भ्यालेन्सियाले हुएस्काको सामना गर्दा इल्चेले रियल सोसिडाडसँग खेल्नेछ। एजेन्सी


























