चितवन, असोज १० । चालू आर्थिक वर्ष ०७७/०७८ को भदौ महीनामा घरेलु तथा साना उद्योग कार्यालय चितवनमा नयाँ उद्योग दर्ता गर्ने उद्यमीको संख्यामा कमी आएको छ।
कार्यालयले दिएको जानकारी अनुसार साउन महीनामा सबै उद्योग गरी २५४ ओटा उद्योग दर्ता भएका छन्। जसअनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग १९१ ओटा उद्योग, पर्यटनमुलक उद्योग २८ ओटा, सेवामुलक उद्योग २० ओटा र उत्पादनमुलक उद्योग १५ ओटा दर्ता भएका थिए। तर यो संख्या भदौमा घटेर ८४ ओटा मात्र उद्योग दर्ता भएका छन्। जसअनुसार कृषि तथा वनजन्य उद्योग ६४ ओटा, उत्पादन मुलक उद्योग १० ओटा, सेवामुलक उद्योग सात ओटा र पर्यटनमुलक उद्योग तीन ओटा दर्ता भएका छन्।
कार्यालय प्रमुख नारायण लम्सालले निशेधाज्ञाका कारण भदौ महीनामा २१ दिन कार्यालय बन्द भएकोले उद्योग दर्ता गर्न सेवाग्राही नआएको बताए। असोज लागेपछि भने दैनिक औसत ५० ओटासम्म उद्योग दर्ता भएको उनले जानकारी दिए। कोरोना महामारीका कारण उद्योगीहरुले जोखिम लिन नचाहेकाले नयांँ उद्योग दर्ता हुन नसकेको उनले बताए। यस्तै, चालू आर्थिक वर्ष साउन महीनाको तुलनामा भदौ महीनामा उद्योग नविकरण गर्नेको संख्यामा समेत कमी आएको छ।
कार्यालयका अनुसार साउन महीनामा सबै उद्योग गरी २१९ ओटा उद्योग नविकरण भएका थिए भने भदौ महीनामा १०९ ओटा उद्योग मात्र नविकरण भएका छन्। साउन महीनामा कृषि तथा वनजन्य उद्योग ४४ ओटा, उत्पादन मुलक उद्योग ८५ ओटा, सेवामुलक उद्योग ५८ ओटा र पर्यटनमुलक उद्योग ३२ ओटा नविकरण भएका छन्। यस्तै भदौ महीनामा उत्पादनमुलक उद्योग ४९ ओटा, सेवामुलक उद्योग ३६ ओटा, कृषि तथा वनजन्य उद्योग १५ ओटा र पर्यटन मुलक उद्योग नौ ओटा नवीकरण भएका छन्। कार्यालय प्रमुख लम्सालले लकडाउनका कारण उद्योगी व्यवसायी कार्यालयसम्म आउन नसकेको र जरीवानासमेत छूट भएको कारण नविकरण गर्नेको संख्यामा कमी आएको हो।


























