असोज ५ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ। दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो। पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो।
केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए। दुवै कागिसो राबाडाको सिकार भएका थिए। दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे। यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो।
पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए। ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए। मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे। दिल्लीले आईपीएलको पहिलो खेलमा नेपालका लेग स्पिनर सन्दीपलाई बेन्चमा राखेको थियो। यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।
सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासेका थिए। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका थिए।
कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए। ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो। तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर ७ रनमा आउट भएका थिए। यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए।
दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे। मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए। यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे। एजेन्सी


























