काठमाडौं, असोज २ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरिएकोमा साझा पार्टीले आपत्ति जनाएको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका र भ्रष्टाचारको आरोपसमेत लागेका व्यक्तिलाई लैजानु घातक भएको साझाको टिप्पणी छ।
वामदेवलाई मनोनित गरेर राष्ट्रपतिले नै राष्ट्रिय सभाको गरिमा थप खस्काउन सहयोग गरेको र यो विडम्बना भएको साझाको बुझाइ छ। साझा पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो। लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो।’ २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बर्दिया(१ बाट पराजित भएका नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि बिहीबार सपथ लिएका छन्।


























