काठमाडौं, असोज २। मन्त्रिपरिषदको वैठकले बंगलादेशबाट ५० मेट्रिक टन पैंचो मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको छ।
सरकारले बंगलादेशबाट ५० मेट्रिक टन युरिया मल पैंचो औपचारिक निर्णय गर्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत कृषि मन्त्रालयलाई सहमति दिएको स्रोतले जानकारी दिएको छ। ‘मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृयाका लागि सरकारले बिहीबार निर्णय गरेको हो,’ मन्त्रालय स्रातले भन्यो।
सरकारको निर्णयपछि दुई महिनाभित्र मल नेपाल ल्याइसक्ने प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ। बंगलादेशले ब्लकमा (खुल्ला) उपलब्ध गराउने र त्यसलाई प्याकेजिङ गरेर ल्याउनकालागि फाष्ट ट्रयाक टेण्डर प्रक्रिया अवलम्बन गरिने मन्त्रालयले जनाएको छ।
खुल्ला प्रतिष्पर्धाबाटै मल ल्याउने निधो भए पनि ढुवानीको माध्यम भने यकिन भइनसकेको मन्त्रालयको भनाइ छ। बंगलादेशसँग पैंचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेश नै लगिदिनु पर्ने सहमति बनेको पनि मन्त्रालयको भनाइ छ। अहिले किसानले मल नपाएका कारण धान खेतीमा समस्या भइरहेको छ। तर, सरकारले मल ल्याई सक्दा खेतीमा मल हाल्ने समय टरिसक्ने किसान बताउँछन्।


























