काठमाडौं, असोज २ । आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो।
महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ।
यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ।


























