काठमाडौं, भदौ ३१ । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ।
आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ। खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानीबाहेक अन्य घरायसी समग्रीहरु पनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीका निर्देशक मनीष थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताए। ३० सेकेन्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनको भनाइ छ।
मेसिनको न्युरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो। कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ।


























