काठमाडौं, भदौ ३१ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमुना भएको बताएका छन्।
संयोजक मिश्रले अन्तर्राष्ट्रिय संस्थाको उदाहरण दिँदै पहिला सेवा गरेकाहरुलाई दोस्रो कार्यकालमा नियुक्ति दिन निवेदन माग नगरिने बताएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशी साथ नवीकरण गरिने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताए।
उनले कुलमानले असाधरण काम गरेको भन्दै उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति नभई भ्रष्ट राजनीतिको चरम नमूना भएको बताएका छन्।
‘धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। ‘विज्ञापन गर्छौं, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’, मिश्रले ट्विटमा लेखेका छन्।्
यसअघि मिश्रले अर्को ट्विटमा नेपाली राजनीतिमा अझै केही वर्ष ‘कुलमानहरू’ले हारेर ‘हनुमानहरू’हरुले जितिरहने बताएका थिए।
घिसिङ आइतबार आफ्नो चारवर्ष कार्यकाल सकेर मंगलबार प्राधिकरणबाट बाट बिदा भएका छन्। सरकारले नयाँ कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छान्ने बताएको छ।


























