गाेरखा, भदाै ३० । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाका विभिन्न क्षेत्रमा बाढी पहिराकाे उच्च जाेखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गरेका छन्। जिल्लाकाे अजिरकाेट र बारपाक-सुलिकाेट गाउँपालिकाकाे केही बस्ती उच्च जोखिमा रहेकोले तत्कालै स्थानान्तरण गर्न माग गरेका हुन्। उनले साेमबार नै विज्ञप्ती जारी गरेर सरकारकाे ध्यानाकर्षण गरेका हुन्। ‘आफूले प्रदेश सभामा पटकपटक याे कुरा उठाउँदै आए पनि सरकारले त्यति चासाे देखाएकाे पाइएन,’ उनले भने, ‘त्यसैले समयमै काम नगर्ने र भवितब्य आएपछि बाँडिने आश्वासनले केही हुनेवाला छैन।’
सांसद दवाडीकाे निर्वाचन क्षेत्रमा पर्ने अजिरकोट गाउँपालिका वडा नम्बर १ काे धनसिरा, वडा नम्बर २ को ओलाङ, बारपाक-सुलिकोट गाउँपालिका वडा नम्बर ८ को तिनखण्डे र वडा नम्बर १ को बारपाकस्थित दलित बस्ती बढी जाेखिममा रहेका छन्। ती बस्तीहरुलाई तत्काल स्थानान्तरण गरिहाल्नु पर्ने अवस्थामा रहेकाेले सरकारलाई खबरदारी गरेकाे उनकाे भनाइ छ। नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रवक्तासमेत रहेका सांसद दवाडीले यसअघि पनि जनताका समस्या समाधानका लागि विभिन्न खालका पहल गर्दै आइरहेका छन्।


























